काठमाडौं, १९ साउन । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो।
सशस्त्र प्रहरी बलको सिफारिसका आधारमा सोमबार गृह मन्त्रालयले दाहाललाई निलम्बन गरेको प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।
दाहालमाथि लागेको आरोपबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। समितिलाई तीन दिनभित्र छानबिन पूरा गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना गोप्य राख्नु कर्मचारीको कानुनी तथा पदीय दायित्व भएको जनाएको छ। मन्त्रालयले पदीय आचरणविपरीत काम गर्ने, गोप्य सूचना चुहाउने तथा शान्ति सुरक्षामा असर पार्ने गतिविधिमा संलग्न कर्मचारीमाथि कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।














