काठमाडौं, १९ असोज । नख्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार सरुवा गरिएको छ। कारागार व्यवस्थापन विभागको पत्रपछि उनलाई शनिबार नख्खुबाट सिन्धुपाल्चोक पठाइएको हो।
भट्ट सम्पत्ति शुद्धीकरण, बीमा ऐन तथा धितो पत्रसम्बन्धी कसुरमा मुद्दा खेपिरहेका छन्। बीमा ऐन र धितो पत्रसम्बन्धी कसुरमा अदालतले क्रमशः १ करोड ५० लाख र १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए पनि सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
करिब २६ अर्ब ६३ करोड रुपैयाँ बिगो दाबी गरिएको सम्पत्ति शुद्धीकरण मुद्दामा उनी गत असारमा डिल्लीबजार कारागार चलान भएका थिए। त्यसको केही समयपछि उनलाई नख्खु सरुवा गरिएको थियो। अहिले नख्खुबाट पनि सिन्धुपाल्चोक पठाइएको हो।
डिल्लीबजार कारागार विगतदेखि नै उच्च पदस्थ तथा चर्चित व्यक्तिहरूको रोजाइमा पर्ने गरेको छ। खुला ठाउँ, भेटघाटमा सहजता र काठमाडौंको केन्द्रमा रहेको कारण कैदीबन्दीले यसलाई प्राथमिकता दिने गरेको कारागारका अधिकारीहरू बताउँछन्। तर सुरक्षा तथा प्रशासनिक कारण देखाउँदै केही चर्चित कैदीलाई अन्य कारागारमा सरुवा गर्ने गरिएको छ।
डिल्लीबजारमा विगतमा पूर्वसभामुख, पूर्वमन्त्री, पूर्वसांसद तथा उच्च तहका सरकारी अधिकारीहरू समेत बसेका थिए। हाल पनि केही चर्चित व्यक्ति त्यहाँ कैद भुक्तान गरिरहेका छन्।














