जनकपु।, १५ असोज । धनुषाको मिथिला नगरपालिका-३ लालभित्तिमा टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टिँदा पुरिएर एक क्रसर सञ्चालकका छोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक रामसागर महतोका ३६ वर्षीय छोरा हरि महतो रहेका छन्। प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ः२० बजे प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपर अनलोड गर्ने क्रममा पल्टिएको थियो।
घटनामा गम्भीर घाइते महतोलाई उद्धार गरी जानकी मेडिकल कलेज, रमदैयामा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा बिहान १०ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६ का हरि बि.क. पनि घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।














