कञ्चनपुर, १४ असोज। कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल महाकाली नदीको बाढीले भत्काएको छ।
बुधबार बिहान करिब ८ बजे नदीको बीच भागमा रहेको पिलर भत्किएपछि पुलको एक भाग नदीमा खसेको हो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फको छैटौँ र दोधारा चाँदनीतर्फको तेस्रो भागमा क्षति पुगेको छ। पुलको क्षति अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी भइरहेको सुदूरपश्चिम प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ।
२०६१ सालमा निर्माण भएको पुलको एक भाग बिहान ४–५ बजेतिर अस्वाभाविक रूपमा माथि उठेको स्थानीयले देखेका थिए। पुल भत्किएपछि दोधारा चाँदनी–भीमदत्तनगरबीचको आवागमन बन्द भएको छ।














