काठमाडौं, ४ असोज । यमनका इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लाल सागर तटमा रहेका महत्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्।
साउदी अधिकारीहरूले रियादतर्फ प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको बताएका छन्। आक्रमणका कारण रियाद अन्तर्राष्ट्रिय विमानस्थलनजिक केही समय उडान प्रभावित भएको बताइएको छ।
हुथी सैन्य प्रवक्ता याह्या अल–सरियाले साउदी अरामकोको यान्बुस्थित तेल तथा ग्यास सुविधालाई समेत लक्षित गरिएको दाबी गरेका छन्। उनका अनुसार यमनमा साउदी पक्षबाट भएको आक्रमणको जवाफमा हमला गरिएको हो। साउदी पक्षले भने हुथीका आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षाले विफल पारेको जनाएको छ।
यसैबीच, टर्कीले आवश्यक परे साउदी अरबलाई सैन्य सहयोग गर्ने जनाएको छ। अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन र यात्रा योजनामा पुनर्विचार गर्न आग्रह गरेको छ।
यमनमा जारी द्वन्द्वका क्रममा शनिबार मात्रै ४८ जनाको मृत्यु भएको एएफपीले जनाएको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार पछिल्लो हिंसाका कारण १ लाख ४ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।














