काठमाडौं, ४ असोज । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्। केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन उनीहरूले आग्रह गरेका छन्।
जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न पूर्वानुमान मोडेलले उक्त अवधिमा देशका केही क्षेत्रमा भारी वर्षाको संकेत देखाएका छन्। अर्का मौसमविद् उज्ज्वल उपाध्यायले असोज ८ देखि ११ गतेसम्म, विशेषगरी असोज १० गते, वर्षाको जोखिम बढी देखिएको बताएका छन्।
यद्यपि मौसम पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले अहिले नै वर्षाको मात्रा र प्रभावबारे निश्चित निष्कर्ष निकाल्न नसकिने मौसमविद्हरूको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले पनि बंगालको खाडीको प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।
सम्भावित भारी वर्षाले पहाडी तथा अन्य संवेदनशील क्षेत्रमा असर पार्न सक्ने भएकाले सावधानी अपनाउन र किसानलाई पाकेको धानबाली जोगाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
भारतको मौसम विभागका अनुसार उक्त प्रणाली थप विकसित हुँदै गएमा बंगालको खाडीमा डिप्रेसन वा डिप डिप्रेसन बन्न सक्ने सम्भावना छ। चक्रवातमा परिणत भए यसको नाम ‘अर्नब’ राखिनेछ।














