जनकपुरधाम, ८ भदौँ । मधेस प्रदेश सरकारले प्रदेश मातहतका प्रहरी कार्यालयलाई ४ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यका १२ वटा पिकअप गाडी हस्तान्तरण गरेको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयलाई गाडी हस्तान्तरण गरिएको हो । जिल्ला प्रहरी प्रमुखहरूलाई एक–एक थान गाडी प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ।
मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोका अनुसार प्रहरी कार्यालयको दैनिक कामकारबाही तथा सुरक्षा व्यवस्थापनलाई थप सहज बनाउन गाडी उपलब्ध गराइएको हो ।
प्रदेशका प्रहरी युनिटहरूलाई आवश्यकताअनुसार थप साधनस्रोत उपलब्ध गराउने तयारीसमेत भइरहेको उनले बताए । मन्त्रालयका अनुसार आगामी दिनमा प्रहरी कार्यालयहरूलाई थप मोटरसाइकलसमेत वितरण गर्ने तयारी छ ।
प्रदेश सरकारले प्रहरीको कार्यसम्पादन प्रभावकारी बनाउन यातायातका साधनसहित आवश्यक स्रोतसाधन उपलब्ध गराउने जनाएको छ ।














