काठमाडौं, २३ साउन। सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
मोरङबाट काठमाडौं जाँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइस ब्रेक फेल भएर अनियन्त्रित भई सडक किनारको नालामा खसेको प्रहरीले जनाएको छ। हाइसमा चालकसहित १४ जना सवार थिए।
दुर्घटनामा धनुषाकी २२ वर्षीया रुवी साह र मोरङका १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्। यस्तै, मोरङका उज्वल चौधरी र सुनसरीका दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्।
चारै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। प्रहरीले चालक उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।














