सिरहा, ९ साउन । घरेलु हिंसाबाट गम्भीर घाइते भई उपचाररत सिराहाको नवराजपुर गाउँपालिका–४ की संजना यादवलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव यादवले अस्पताल पुगेर भेट गरेका छन्।
उपचारका क्रममा रहेकी संजनाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सांसद यादवले घटनाप्रति दुःख व्यक्त गरेका छन्। संजनाले श्रीमान रामशंकर यादव र देबर श्यामसुन्दर यादवबाट कुटपिट हुनुका साथै तातेको रडले पोलिएको आरोप लगाएकी छन्।
सांसद यादवले पीडितलाई न्याय दिलाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै घटनामा संलग्नमाथि कानुनबमोजिम कडा कारबाही हुनुपर्ने बताएका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा संजनाका श्रीमान रामशंकर यादवलाई पक्राउ गरिएको छ भने अर्का आरोपित श्यामसुन्दर यादव फरार छन्। फरार व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














