काठमाडौं, ९ असार । सुनसरीको बर्जु गाउँपालिका–६ मा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सई लालकुमार यादवको मृत्यु भएको छ।
विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक ५० वर्षीय यादव गम्भीर घाइते भएका थिए।
उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइएका यादवको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा उनकी पत्नी ४७ वर्षीया रामपरी यादव पनि घाइते भएकी छन्। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ।
सप्तरीका स्थायी बासिन्दा यादव हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा भएका थिए। तर नयाँ कार्यस्थलमा हाजिर हुनुअघि नै उनको दुर्घटनामा निधन भएको हो।
दुर्घटनामा संलग्न कारका चालक ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी पेशाले रेडियोलोजिस्ट हुन्। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














