काठमाडौं, २६ जेठ । फुटबलको महासंग्रामको प्रतिक्षा गरिरहेका विश्वभरका फुटबल प्रेमीहरूका लागि अब प्रतिक्षाको घडी सकिन लागेको छ ।
फिफा विश्वकप इतिहासकै सबैभन्दा ठूलो र भव्य फुटबल विश्वकपको २३औं संस्करण फिफा विश्वकप २०२६ अब केही दिनमै उत्तर अमरिकी महादेशमा सुरु हुँदैछ ।
आयोजकको संख्यादेखि सहभागी टिम र खेल संख्याको कीर्तिमानमा यस पटकको विश्वकपमा धेरै कुराहरू पहिलो पटक हुँदैछन् । जसले यसलाई अझ विशेष बनाएको छ ।
विश्वकप २०२६ः मुख्य विवरण र मिति
फिफा विश्वकप २०२६ को औपचारिक उद्घाटन तीन फरक देशमा फरक तरिकाले आयोजना हुनेछ । विश्वकपको उद्घाटन खेल भने ११ जुनमा मेक्सिकोमा हुनेछ ।
मेक्सिको र दक्षिण अफ्रिका अज्टेका स्टेडियममा मैदान उत्रेपछि नै विश्वकपको महाकुम्भको औपचारिक सुरुवात हुनेछ । पुटबलको यस महासंग्राम करिब ४० दिन चल्नेछ ।
१९ जुलाईमा अमेरिकाको न्युयोर्कमा हुने फाइनल खेलपछि विश्वकप समापन हुनेछ । यस पटक विश्वकपमा अहिलेसम्मकै धेरै १०४ खेल हुनेछन् ।
सुरु हुने मितिः जुन ११, २०२६
फाइनल खेलः जुलाई १९, २०२६
आयोजक राष्ट्रहरूः अमेरिका, मेक्सिको र क्यानडा (संयुक्त रूपमा)
कुल सहभागी टोलीः ४८ (यसअघि ३२ टोली खेल्दै बएकोमा पहिलो पटक ४८ टोली)
कुल खेल संख्याः १०४ खेल (समूह चरणमा ७२ र नकआउट चरणमा ३२)
३ राष्ट्र र १६ सहरः खेल मैदानहरू

फिफा विश्वकपको इतिहासमै पहिलो पटक फिफा विश्वकप तीनवटा देशमा संयुक्त रूपमा आयोजना हुँदैछ । जसमा अमेरिकाको ११ स्टेडियममा खेल हुनेछ भने मेक्सिकोको ३ र क्यानडाको २ स्टेडियममा खेल हुनेछ ।
अमेरिका (११ सहर)ः न्यूयोर्क÷न्यूजर्सी, लस एन्जलस, डलास, एटलान्टा, कान्सास सिटी, ह्युस्टन, मायमी, फिलाडेल्फिया, सिटल, बोस्टन, सान फ्रान्सिस्को
मेक्सिको (३ सहर)ः मेक्सिको सिटी, ग्वाडलाजारा, मोन्टेरे
क्यानडा (२ सहर)ः टोरन्टो, भ्यान्कुभर
उद्घाटन खेलः जुन ११ मा मेक्सिको सिटीको एस्टेका स्टेडियममा मेक्सिको र दक्षिण अफ्रिका बीचको खेलबाट विश्वकपको सुरुवात हुनेछ । क्यानडाको पहिलो खेल जुन १२ मा टोरन्टोमा र अमेरिकाको पहिलो खेल जुन १२ मा लस एन्जलसमा हुनेछ ।
रोचक तथ्य के छ भने मेक्सिको फिफा विश्वकप तेस्रो पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्दैछ । र त्यहाँको ऐतिहासिक एज्टेका स्टेडियम तीनवटा छुट्टा छुट्टै विश्वकप (१९७०, १९८६ र २०२६) आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्नेछ । जुन ११ मा हुने उद्घाटन खेल सोही मैदानमा खेलिनेछ ।














