काठमाडौं, २५ जेष्ठ । श्रम सस्कृति पार्टीका सभापति एवं सांसद हर्क साम्पाङ ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन् ।
प्रहरीले लापरवाहीपूर्ण ढंगले सवारी चलाएको कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना गरेको जनाएको छ । सामाजिक सञ्जालमा ट्राफिक नियम पालना नगरी मोटरसाइकल चलाएको गुनासो आएपछि कारबाही गरिएको प्रहरीले जनाएको छ ।
केही दिनअघि एक हातले मोटरसाइकल चलाउँदै भिडिओ खिचिरहेका साम्पाङ दुर्घटनामा समेत परेका थिए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार लापरवाहीपूर्वक सवारी चलाउने व्यक्तिलाई पहिलो पटक ५००, दोस्रो पटक १,००० र तेस्रो वा सोभन्दा बढी पटक १,५०० रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।














