काठमाडौं, २५ जेठ । प्रतिनिधिसभाको आजको बैठक पनि विपक्षी दलहरूको निरन्तर विरोधका कारण प्रभावित भएको छ ।
सभामुख डीपी अर्यालले बैठक प्रारम्भ भएको घोषणा गर्दै कार्यसूची अघि बढाउन खोज्दा विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
विपक्षी दलहरूले नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै बैठकमा विरोध कायम राखेको हो । उनीहरूले उक्त विषयमा सरकारको स्पष्ट धारणा र जवाफ माग गरेका छन् ।
सांसदहरूको विरोध नरोकिएपछि सभामुख अर्यालले बैठक सञ्चालन गर्न कठिन भएको भन्दै बैठक स्थगित भएको घोषणा गर्नुभयो । यसअघि पनि सोही विषयलाई लिएर प्रतिनिधिसभाका बैठकहरू अवरुद्ध हुँदै आएका छन् । विपक्षी दलहरूले आफ्नो माग सम्बोधन नभएसम्म विरोध जारी रहने संकेत दिएका छन् ।














