जनकपुरधाम, २४ जेठ । सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल निरीक्षणका लागि पुगेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल सँग स्थानीय युवाले आक्रोश व्यक्त गरेका छन् ।
शनिबार पुलस्थल निरीक्षणका क्रममा मन्त्री लम्सालले निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिए पनि पुल निर्माणको समयसीमा र स्पष्ट कार्ययोजनाबारे ठोस धारणा सार्वजनिक नगरेपछि स्थानीयले नाराबाजी गरेका हुन् ।
स्थानीयवासीले करिब १५ वर्षदेखि अलपत्र रहेको पुल निर्माणको भविष्यबारे स्पष्ट प्रतिबद्धता माग गरेका थिए । हुलाकी कमला पुल संघर्ष समितिका संयोजक इन्जिनियर प्रविन यादवका अनुसार मन्त्रीले काम गरेर देखाउने आश्वासन दिए पनि निर्माण सम्पन्न हुने मिति नतोकेपछि स्थानीय असन्तुष्ट बने ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले निरीक्षणपछि सामान्य नाराबाजी भएको तर यातायात अवरुद्ध नभएको बताएका छन् ।














