काठमाडौं, १४ जेठ । बसभित्र यात्रु महिलाको गलाबाट सुनको सिक्री चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको लिशंखुवाखर गाउँपालिका–७ का २९ वर्षीय जनक तामाङ, ३० वर्षीय मनकुमार तामाङ (साइमन), ललितपुरको कोन्जोसोम गाउँपालिका–५ का २५ वर्षीय उमेश मुक्तान तथा काभ्रेको नमोबुद्ध नगरपालिका–७ का ३० वर्षीय अर्जुन तामाङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरूले १३ जेठमा कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको बसमा एक युवतीको गलामा रहेको सुनको सिक्री चोरी गरेका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले खोजी अभियान सञ्चालन गरी चारै जनालाई चोरी गरिएको सिक्रीसहित नियन्त्रणमा लिएको जनाए ।














