काठमाडौं, ३० वैशाख । लुम्बिनी प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाउने तयारी थालेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १ गतेदेखि लागू हुने गरी मन्त्रालय पुनःसंरचना गरिने बताएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठकमा उनले असार १५ देखि २० गतेभित्र मन्त्रालयअन्तर्गतका निर्देशनालय तथा कार्यालय समायोजन गरिसक्ने जानकारी दिए ।
हाल प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय रहेका छन् । चालु खर्च कटौती, प्रशासनिक संरचना चुस्त बनाउने र सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालय सङ्ख्या घटाउन लागिएको सरकारको भनाइ छ ।
बैठकमा खानेपानी आयोजना, जलस्रोत व्यवस्थापन, चुरे संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा यातायात सेवा विस्तारका विषयमा पनि छलफल भएको थियो ।














