काठमाडौं, ३० वैशाख । कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट तयार गरेको आरोपमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ निवासी ६१ वर्षीय फरदिनान्द भ्यालेन्टाइन फेट्ज रहेका छन्, जो क्रोडी फ्रेन्च क्षेत्री नामले पनि परिचित छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट तथा अन्य शैक्षिक कागजात तयार गरेका थिए ।
यस सम्बन्धमा उच्च माध्यमिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालयले जाहेरी दिएको थियो । सरकारी छाप तथा दस्तखत किर्ते मुद्दामा भक्तपुर जिल्ला अदालतले २०८२ वैशाख ३ गते उनलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
फैसलापछि फरार रहेका फेट्जलाई प्रहरीले मंगलबार काठमाडौंको तिलगंगा क्षेत्रबाट पक्राउ गरेको जनाए ।।














