काठमाडौं,२७ वैशाख । संघीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ ।
सोही दिन राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
संविधानको धारा ९५ अनुसार अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ । संयुक्त बैठकअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्नेछ ।
प्रतिनिधिसभामा अधिवेशन आह्वानसम्बन्धी पत्र, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचना तथा विभिन्न नियमावली र अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । सरकारद्वारा जारी आठ अध्यादेश पनि दुवै सदनमा पेस गरिनेछन् ।














