काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई डिजिटल र व्यवस्थित बनाउने अभियान सुरु गरेको छ ।
देशभरका ६ हजार ७ सय ४३ वटै वडामा जारी सदस्यता अद्यावधिक कार्यलाई प्रभावकारी बनाउन पार्टीले सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर सूचीकृत गर्न आग्रह गरेको हो ।
केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्ति अनुसार सदस्यहरूले आफ्नो मोबाइल नम्बरबाट पार्टीको केन्द्रीय कार्यालयको नम्बर ९७०१२५५५५५ मा सम्पर्क गरी विवरण दर्ता गराउनुपर्नेछ ।
यसले आगामी सदस्यता प्रक्रिया सहज, छिटो र प्रविधिमैत्री हुने विश्वास पार्टीले लिएको छ ।














