काठमाडौं, २५ वैशाख । नेपाली दूतावास बैंककले कम्बोडियामा रहेका २११ जना नेपाली स्वदेश फर्किनका लागि सम्पर्कमा आएको जनाएका छन् ।
दूतावासका अनुसार अनलाइन फाराममार्फत सम्पर्कमा आएका व्यक्तिमध्ये ९ जना महिला रहेका छन् । उनीहरू सन् २०२२ मेदेखि २०२६ मेसम्म कम्बोडिया पुगेका नेपाली हो ।
दूतावासले २७ जना नेपाली विभिन्न अभियोगमा कम्बोडियाका कारागारमा पुर्पक्षका लागि थुनामा रहेको बताए । साथै, २५ जना नेपाली शुक्रबार नेपाल फर्किने तयारीमा रहेको छ ।
नेपाल फर्किने क्रममा कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्न दूतावासले आग्रह गरेको छ । ट्रान्जिट भिसा र पुनः लगेज चेक–इनको झन्झटबाट बच्न यस्तो सुझाव दिइएको हो ।
दूतावासका अनुसार नेपालीहरूले कम्बोडिया जानका लागि २ लाखदेखि ८ लाख रुपैयाँसम्म विभिन्न व्यक्तिलाई बुझाएको जानकारी पनि प्राप्त भएको छ ।















