काठमाडौं, २३ वैशाख । राज्य कोषबाट दोहोरो तथा मापदण्डभन्दा बढी सुविधा लिने प्रवृत्ति नियन्त्रण गर्न सरकारले पहल थालेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण तुरुन्त उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
पछिल्लो अध्ययनमा केही पूर्वपदाधिकारीहरूले कानुनको तोकेभन्दा बढी सुविधा लिइरहेको वा विभिन्न निकायबाट दोहोरो सुविधा उपयोग गरिरहेको देखिएपछि यस्तो कदम चालिएको हो ।
सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायतका उच्च पदमा बसेका व्यक्तिहरूले प्रयोग गरिरहेका सुविधाको पूर्ण विवरण आजै उपलब्ध गराउन ताकेता गरेको छ ।
सरकारका अनुसार यो कदम राज्यकोषको दुरुपयोग रोक्न, पारदर्शिता बढाउन र सुशासन कायम गर्न लक्षित छ । प्राप्त विवरणका आधारमा मापदण्डविपरीत लिइएका सुविधा फिर्ता गरिने र प्रणालीलाई थप व्यवस्थित बनाइने तयारी गरिएको छ ।














