काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी र कर्मचारी क्षेत्रमा दलीय राजनीति हटाउने कदम कुनै पार्टीविरुद्ध नभई प्रणाली सुधार र संस्थागत सुदृढीकरणका लागि भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्न अध्यादेश आवश्यक भएको उल्लेख गरे । उनले विगतमा संगठनहरू विद्यार्थी र कर्मचारी हितभन्दा दलको प्रभाव विस्तार गर्ने माध्यम बनेको भन्दै अब योग्यता, क्षमता र विधिका आधारमा नियुक्ति र अवसर सुनिश्चित गर्नुपर्ने धारणा राखे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन बनाउन नसकेर नभई नचाहेर यस्तो नीति लिएको स्पष्ट पार्दै, शिक्षालयमा झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गरिनुपर्ने बताए ।
प्रधानमन्त्रीले यो कदम जनचाहना अनुरूप भएको दाबी गर्दै प्रणालीप्रति विश्वास पुनःस्थापित गर्ने प्रयास भएको बताएका छन् ।














