जनकपुर, २२ वैशाख । जनमत पार्टीभित्र मधेश सरकार समर्थनबारे विवाद देखिएको छ ।
बहुमत सांसदहरूले समर्थन फिर्ता लिएको पत्र बुझाएको १२ घण्टापछि संसदीय दलका नेता महेश प्रसाद यादवले भने समर्थन कायमै रहेको स्पष्ट पारेका छन् ।
उनले संसदीय दलको औपचारिक बैठक बिना गरिएको निर्णय अवैधानिक भएको भन्दै मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको सरकारलाई जनमत पार्टीको समर्थन यथावत रहेको जनाएका छन् ।
यसअघि प्रमुख सचेतक चन्दन सिंहले बहुमत सांसदको निर्णय भन्दै समर्थन फिर्ताको पत्र पठाएका थिए । जनमतका १२ सांसदमध्ये ९ जनाले समर्थन फिर्ता लिएको दाबी गरिए पनि दलभित्रै फरक–फरक धारणा देखिएको छ ।
यस घटनाले मधेश सरकारको स्थायित्व र सम्भावित नयाँ गठबन्धनबारे राजनीतिक अन्योल बढाएको छ ।














