काठमाडौं, १७ वैशाख । बलात्कारपछि हत्या प्रकरणमा जन्मकैद सजाय पाएका सञ्जय विक कारागारबाट फरार भई अर्को हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।
कास्की कारागारबाट भागेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चाबहिलबाट पक्राउ गरेको हो । विकले यसअघि पोखरामा एक महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा जन्मकैद सजाय पाएका थिए।
पछि उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए । फरार भएपछि उनी २२ चैतमा पूर्वी नवलपरासीमा दुई वृद्धमाथि आक्रमण गरी एक जनाको हत्या र अर्कोलाई घाइते बनाएको घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानमा परेका छन् । प्रहरीले उनलाई थप अनुसन्धानका लागि सम्बन्धित जिल्लामा पठाएको जनाएको छ ।














