काठमाडौं, १४ वैशाख । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता नेपाल क्रिकेट संघसँग छिट्टै नवीकरण हुने सरकारको संकेत देखिएको छ ।
सरकारका तर्फबाट निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री सस्मित पोखरेलले त्रिवि उपकुलपतिसहितका पदाधिकारीसँग आजै छलफल भएको जानकारी दिए।
उनले उक्त छलफल सकारात्मक रहेको र मैदान खाली गराउने नभई भाडा सम्झौता नवीकरण गर्ने दिशामा सहमति भएको बताए । उनका अनुसार राज्यको लगानी रहेको संरचनालाई निरन्तर उपयोगमा ल्याउने उद्देश्यले लिज सम्झौता पुनः गर्ने तयारी भइरहेको छ ।
यसैबीच, सरकारले अतिक्रमणमा परेका जग्गा फिर्ता ल्याउने अभियान अघि बढाइरहेको छ । सोही क्रममा त्रिविले गत ४ वैशाखमा सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको थियो ।
उक्त निर्णयअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गतको सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ (क्यान)लाई समेत पत्र पठाएको छ। त्रिवि र क्यानबीचको हालको करार सम्झौता यही वैशाख मसान्तमा सकिन लागिएको छ ।












