जनकपुर, २४ चैत । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले महोत्तरी जिल्लाको प्रसिद्ध पौराणिक श्री लक्ष्मी नारायण मठ -मन्दिर- को अवलोकन भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा उनले भगवान लक्ष्मी नारायणको दर्शन तथा पूजा अर्चना गरेका थिए । मन्त्री महतो मटिहानी पुग्दा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल र लक्ष्मी नारायण मठका उत्तराधिकारी महन्थ डा. रबिन्द्र दास वैष्णवले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा उनले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त स्थलको संरक्षण र प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताए । यसै क्रममा मन्त्री महतोले मटिहानी सीमावर्ती दशगजा क्षेत्रमा नाला निर्माण कार्य अवरुद्ध भएको विषयमा स्थानीय गुनासो सुनेका थिए ।
मधेश प्रदेशकी सांसद सुनिता कुमारी साहसँगको सहकार्यमा उक्त नाला निर्माण कार्यलाई पूर्ण रूपमा अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।


















