काठमाडौं, २१ चैत । पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनर्गठनका लागि समयसीमासहितको कार्ययोजना प्रस्ताव गरेका छन् ।
तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण, पाँच महिनाभित्र सबै तहका अधिवेशन र ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने योजना अघि सारिएको छ ।
प्रस्तावमा सङ्गठन सुदृढीकरण, सदस्यता नवीकरण, नेतृत्व रूपान्तरण, प्रशिक्षण, आर्थिक सुदृढीकरण र प्राविधिक क्षमता विकासलगायत १० बुँदे कार्यक्रम समेटिएको छ ।
यस विषयमा थप छलफल सोमबारको बैठकमा हुने जनाइएको छ ।
क. सङ्गठन समायोजन र निर्माण: पार्टी सङ्गठन र पार्टी सम्बद्ध जनवर्गीय सङ्गठनहरूलाई नयाँ ढङ्गले पुनर्गठन र रूपान्तरण गर्न जरुरी छ। त्यसका लागि एक महिनाभित्र पालिका तहसम्मका भएका सबै सङ्गठन समायोजन गर्ने र नभएका स्थानमा नयाँ सङ्गठन निर्माण गर्ने। तीन महिनाभित्र सबै वडामा सङ्गठन निर्माण गरिसक्ने ।
ख. पार्टी सदस्यता नवीकरण र अधिवेशन ः अबको तीन महिनाभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने र पाँच महिनाभित्र वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन गर्ने।
ग. एकता महाधिवेशनको आयोजना अबको छ महिनाभित्र पार्टीको एकता राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने।
घ. नेतृत्वको पुनर्गठन र रूपान्तरण ः पार्टी सङ्गठनको मात्र होइन नेतृत्वको पनि पुनर्गठन र रूपान्तरण गर्न जरुरी छ। त्यसका निम्ति पनि ठोस कार्ययोजना बनाएर अगाडि बढ्नु पर्दछ ।
ङ. प्रशिक्षण अभियान ः सङ्गठन समायोजन र पुनर्गठनसँगै सघन रूपमा सैद्धान्तिक÷वैचारिक प्रशिक्षण अभियान सञ्चालन गर्नु आवश्यक छ। व्यवस्थित पाठ्यक्रम बनाएर सघन प्रशिक्षण अभियान सञ्चालन गर्ने।
च. आर्थिक कोश निर्माण अभियान ः पार्टीलाई सङ्गठन र विचारको साथै आर्थिक रूपले पनि सबल बनाउनु आवश्यक छ। त्यसका लागि आर्थिक कोश निर्माण अभियान सञ्चालन गर्ने।
छ. प्रभावकारी रचनात्मक प्रतिपक्ष ः संसद्मा प्रभावकारी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने। राष्ट्र र जनसरोकारका विषयमा प्रभावकारी ढङ्गले प्रस्तुत हुने।
ज. प्रदेश र स्थानीय तह ः परिचालन प्रदेश र स्थानीय तहमा रहेका हाम्रो पार्टी सङ्गबद्ध जनप्रतिनिधिहरूलाई अझ बढी जनपक्षीय काम गर्ने गरी परिचालन गर्ने।
झ. प्राविधिक क्षमता विकास ः प्राविधिक ज्ञानविनाको पार्टीले अब काम गर्न सक्दैन भन्ने प्रस्ट भएको छ। त्यसैले पार्टीका नेता र कार्यकर्ताको प्राविधिक क्षमता विकासका निम्त अभियान चलाउनु पर्दछ ।
ञ. कार्यशैली र आचरण सुधार ः पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधार गर्नु आवश्यक छ। यसको पनि ठोस कार्ययोजना बनाउनु पर्दछ ।














