जनकपुर, १८ चैत । धनुषा निर्वाचन क्षेत्र नम्बर २ का सांसद रामबिनोद यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो क्षेत्रका दीर्घकालीन तथा ज्वलन्त समस्याहरू उठाएका छन् ।
उनले क्षेत्रका नागरिकको तर्फबाट कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, बाढी–डुबान र बेरोजगारीलगायतका विषयमा विशेष ध्यान दिन आग्रह गरेका हुन् । सांसद यादवले धनुषा–२ कृषि प्रधान क्षेत्र भए पनि सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसानहरू आकाशे पानीमा निर्भर रहन बाध्य भएको बताए ।
कमला नदी नियन्त्रण र सिँचाइ आयोजना प्रभावकारी रूपमा सञ्चालन गरी खेत–खेतमा पानी पु¥याउनुपर्ने उनको जोड छ । साथै, किसानलाई समयमै मल र बीउ उपलब्ध गराउनुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन् ।
त्यस्तै, ग्रामीण सडकहरूको अवस्था अत्यन्त जीर्ण हुँदा वर्षायाममा आवागमन प्रभावित हुने गरेको भन्दै हुलाकी राजमार्गसँग जोडिने सहायक सडकहरूको स्तरोन्नति र मर्मतका लागि विशेष बजेट विनियोजन गर्नुपर्ने माग उनले गरेका छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ पनि उनले गम्भीर समस्या रहेको बताएका छन्। सामुदायिक विद्यालयको भौतिक पूर्वाधार कमजोर हुनुका साथै प्राविधिक शिक्षाको पहुँच न्यून रहेको र स्वास्थ्य चौकीहरूमा आवश्यक जनशक्ति तथा उपकरणको अभाव हुँदा सामान्य उपचारका लागि पनि जनतालाई जनकपुर वा काठमाडौं धाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
यसैगरी, वर्षायाममा कमला नदी तथा अन्य खोलानालाबाट हुने बाढी र डुबानले बर्सेनि ठूलो मात्रामा खेतीयोग्य जमिन नष्ट हुने गरेको उल्लेख गर्दै दीर्घकालीन तटबन्ध निर्माण आवश्यक रहेको उनले बताएका छन् ।
युवाहरू रोजगारीको अभावमा विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले स्थानीय स्तरमै साना तथा मझौला उद्योग स्थापना गर्न सहुलियत तथा प्रोत्साहन कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
सांसद यादवले उठाएका यी मुद्दा केवल धनुषा–२ मात्र नभई समग्र मधेश प्रदेशकै विकाससँग जोडिएको उल्लेख गर्दै आगामी बजेट तथा नीतिगत कार्यक्रममा प्राथमिकताका साथ समेटिने विश्वास व्यक्त गरेका छन् ।














