काठमाडौं, १७ चैत । वैदेशिक रोजगार विभागले विदेश रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क वृद्धि नभएको स्पष्ट पारेका छन् ।
विभागका अनुसार प्रति प्रशिक्षार्थी अधिकतम शुल्क ७०० रुपैयाँ मात्रै कायम रहेको छ । हाल केही तालिम प्रदायक संस्थाले २१०० रुपैयाँसम्म असुलिरहेको गुनासो आएपछि विभागले सूचना जारी गर्दै तोकिएको शुल्कभन्दा बढी लिन नपाइने दोहो¥याएको हो ।
यदि कसैले ७०० रुपैयाँभन्दा बढी रकम लिएको प्रमाणित भएमा त्यस्ता संस्थाको इजाजत पत्र स्वतः खारेज गरिने चेतावनी पनि दिइएको छ । विभागले अभिमुखीकरण तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन गर्नुपर्ने र सो अवधिको कुल शुल्क ७०० रुपैयाँ नै हुने जानकारी दिएको छ ।
यससम्बन्धी व्यवस्था २०८१ असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिअनुसार यथावत रहेको बताइएको छ । वैदेशिक रोजगार ऐन, २०६४ र सम्बन्धित कार्यविधिअनुसार सबै तालिम प्रदायकले मापदण्ड पालना गर्नुपर्ने विभागले बताए । विभागले सबै मान्यता प्राप्त संस्थालाई निर्धारित शुल्क मात्र लिन र नियम पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।














