काठमान्डौँ, १७ चैत । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम रहेको सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको छ ।
अबदेखि विदेश जाने श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । यसअघि सीमित स्वास्थ्य संस्थामा मात्र परीक्षण हुने व्यवस्था थियो ।
सरकारको यो निर्णयले सेवा सहज, पारदर्शी र सर्वसुलभ बनाउने अपेक्षा गरिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ अनुसार पनि सरकारका स्वीकृत संस्थाबाट परीक्षण गर्न सकिने प्रावधान रहेको छ ।














