काठमाडौं, ,२८ फागुन । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा उनले राष्ट्रिय सभा, प्रतिनिधि सभा र मल्टीपर्पोज हलको निर्माण प्रगतिबारे जानकारी लिएका छन् ।
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकाले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण र संसद् बैठक सञ्चालनका लागि मल्टीपर्पोज हललाई अस्थायी सभाकक्षका रूपमा तयार पारिँदैछ ।
सहरी विकास मन्त्रालयका अधिकारीहरूले उक्त हल शनिबारसम्म तयार हुने जानकारी दिएका छन् । निर्माणाधीन स्थायी बैठक कक्षहरू भने पूर्ण रूपमा तयार हुन अझै करिब एकदेखि दुई महिना लाग्ने बताइएको छ ।
अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण तथा प्रतिनिधि सभा बैठक सञ्चालनका लागि आवश्यक तयारी समयमै पूरा गर्न निर्देशन दिएका छन् । साथै बैठक कक्षको अभावका कारण देशको प्रतिष्ठामा असर नपर्ने गरी निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन उनले आग्रह गरेका छन् ।














