काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार मतदान शान्तिपूर्ण र निर्वाध रूपमा सञ्चालन भइरहेको छ । मतदाताले अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन्।
मतदानका लागि मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा लालपूर्जा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्, जसमध्ये ३ हजार ६८० अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य केन्द्र छन्। साथै १४३ अस्थायी मतदानस्थल पनि निर्धारण गरिएको छ ।
सुरक्षाका लागि ७९ हजारभन्दा बढी नेपाली सेना, ७५ हजारभन्दा बढी नेपाल प्रहरी, ३४ हजारभन्दा बढी सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी तथा निर्वाचन प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
निर्वाचन सञ्चालनका लागि दुई लाखभन्दा बढी सरकारी कर्मचारी खटिएका छन् ।














