काठमाडौं, २३ माघ । बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बढ्गाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
बझाङको सुनकुडातर्फ फर्किंदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।
दुर्घटनामा बझाङ र बैतडीका विभिन्न स्थानका १३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा ३४ घाइतेको डडेलधुरामा र ४ जनाको बझाङमा उपचार भइरहेको छ भने ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेहुला–बेहुली भने अर्को सवारीमा भएकाले सुरक्षित रहेका छन् ।














