काठमाडौँ, १५ माघ । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण इलाकामा भएको विमान दुर्घटनामा १५ जनाको ज्यान गएको छ ।
दुर्घटनाग्रस्त विमानमा सवार १३ यात्रु र दुई जना चालक दलका सदस्य सबैको मृत्यु भएको कोलम्बियाली नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।
दुर्घटनापछि तत्काल उद्धार टोली घटनास्थलमा खटिए पनि कोही पनि जीवित फेला नपरेको अधिकारीहरूले बताएका छन् । दुर्गम र पहाडी भूभाग भएका कारण उद्धार कार्यमा कठिनाइ आएको जनाइएको छ ।
घटनास्थलमा पुगेका सुरक्षाकर्मी तथा उद्धारकर्मीले शव संकलन र पहिचानको प्रक्रिया अघि बढाइरहेका छन् । दुर्घटनाग्रस्त विमान सरकारी स्वामित्वको एयरलाइन्स कम्पनी साटेना (SATENA) ले सञ्चालन गरेको हो।
विमान (उडान नम्बर एचके–४७०९) स्थानीय समयअनुसार बुधबार बिहान ११ः४२ बजे राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको केही समयमै दुर्घटनामा परेको बताइएको छ ।
हालसम्म दुर्घटनाको ठोस कारण सार्वजनिक गरिएको छैन ।














