एजेन्सी । फिलिपिन्सको लुजोन टापुमा पर्ने कामारिनेस सुर प्रान्तमा शुक्रबार यात्रुवाहक बस दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मेट्रो मनिलाबाट दक्षिणतर्फ गइरहेको बस डेल गालेगो नगरपालिकास्थित राजमार्गमा नियन्त्रण गुमाएर सडकबाट तल खसेको थियो । दुर्घटनाका बेला बसमा चालक र सहचालकसहित कुल २७ जना सवार रहेका थिए ।
सडकभन्दा तल रहेका रूखहरूले बसलाई अझ तल खस्न नदिएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले बताए । घाइतेहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा लगिएको छ ।
दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जानकारी दियो ।














