- जनकपुर, ८ पोष । दलित, पिछडावर्ग, थारु, आदिवासी, जनजाति तथा अल्पसंख्यक मुस्लिम समुदायको परिसंघ (डोटिम) ले सिरहामा जिल्ला अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै रामगोपाल मण्डलको संयोजकत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ।
सिरहामा सम्पन्न जिल्ला भेलाबाट चयन भएको नवगठित समितिको नाम डोटिम परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवानले घोषणा गर्नुभएको हो। समितिलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव तथा सिरहा जिल्ला अध्यक्ष अशोक यादवले टीका लगाई बधाई दिनुभएको थियो।
केन्द्रीय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै संयोजक पासवानले दलित, आदिवासी, थारु तथा अल्पसंख्यक समुदायका समस्या, अधिकार र राजनीतिक सहभागिता सुनिश्चित गर्न डोटिमको गठन गरिएको बताउनुभयो। समाजको अन्तिम वर्गसम्म राज्यको पहुँच नपुगेसम्म समग्र विकास सम्भव नहुने उल्लेख गर्दै उहाँले जिल्लादेखि वडास्तरसम्म संगठन विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी, जनजाति र अल्पसंख्यक मुस्लिम समुदायका अधिकार सुनिश्चित गर्न संगठनलाई अझ सशक्त, अनुशासित र एकताबद्ध बनाउन आवश्यक रहेको बताउनुभयो। संविधानले प्रदान गरेका हक–अधिकार व्यवहारमा कार्यान्वयन हुन नसक्दा यी समुदायहरू अझै पछि परिरहेको उल्लेख गर्दै उहाँले साझा संघर्षमार्फत मात्र लक्ष्य हासिल गर्न सकिने धारणा राख्नुभयो।
कार्यक्रममा अन्य वक्ताहरूले डोटिमको भूमिकालाई प्रभावकारी बनाउन जिल्ला तहदेखि वडास्तरसम्म संगठन विस्तार गर्नुपर्नेमा जोड दिए। उनीहरूले स्थानीय तहमा विद्यमान विभेद, असमानता र बहिष्करणका मुद्दा उठाउँदै पार्टीमार्फत दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मित्र राष्ट्र भारतबाट आएको प्रतिनिधिमण्डलसमेत सहभागी थियो। झारखण्डबाट पार्टीका महासचिव डा. लम्बोदर महतो तथा गुजरातबाट अक्षयकुमार ठक्करले कार्यक्रमलाई सम्बोधन गरेका थिए।
कार्यक्रममा जसपा नेपालका जिल्ला तथा प्रदेशस्तरीय नेता–कार्यकर्ता, विभिन्न समुदायका अगुवा, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता भेलाले समुदायबीच आपसी समझदारी बढाउनुका साथै साझा मुद्दामा एकजुट हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा अध्यक्ष चन्देश्वर पासवानले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै संगठनलाई अझ सक्रिय र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन डोटिम परिसंघका महासचिव शशिकपुर मियाँले गर्नुभएको थियो।














