एजेन्सी, ७ पोष । विश्वव्यापी आणविक हतियार नियन्त्रण व्यवस्था सन् २०२६ मा थप कमजोर हुने संकेत देखिएका छन् ।
विज्ञहरूका अनुसार दशकौँदेखि अन्तर्राष्ट्रिय सुरक्षा कायम गर्दै आएको कानुनी संरचना दबाबमा पर्दै गएको छ । फेब्रुअरी ५ मा अमेरिका–रुसबीचको अन्तिम प्रमुख आणविक सन्धि समाप्त हुँदैछ भने अप्रिलमा न्युयोर्कमा आणविक अप्रसार सन्धि (एनपिटी) को समीक्षा सम्मेलन आयोजना हुँदैछ।
तर अघिल्ला सम्मेलनहरूजस्तै यसपटक पनि साझा सहमति कठिन हुने अनुमान गरिएको छ । विज्ञहरूले हालको आणविक वातावरण झनै तनावपूर्ण बन्दै गएको बताएका छन् । नयाँ हतियार परीक्षण, सम्भावित आणविक परीक्षण पुनः सुरु हुने सङ्केत र विश्व शक्ति सन्तुलनमा आएको परिवर्तनले नियन्त्रण प्रणालीलाई कमजोर बनाएको उनीहरूको भनाइ छ ।
विशेषगरी चीनको उदय, नयाँ प्रविधि र बहुध्रुवीय विश्व व्यवस्थाले अमेरिका–रुस केन्द्रित पुरानो मोडेललाई चुनौती दिएको छ। न्यु स्टार्ट समाप्त भएमा पारदर्शिता र निरीक्षण संयन्त्रहरू अवरुद्ध हुने खतरा रहेको चेतावनी दिइएको छ ।














