काठमाडौं, २८ मंसिर । मोरङका दुई स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएका छन् । सुन्दरहरैँचा, ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा सवारी दुर्घटना भएको हो ।
प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँस्थित भित्री सडक खण्डमा लाइटिङ बोर्डिङ स्कुलबाट गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्टर आइतबार बिहानका राति आफैं अनियन्त्रित भएर दुर्घटना पर्दा सहचालकको मृत्यु भएको छ ।
बिहान ५ः४५ बजेतिर दुर्घटना हुँदा ट्याक्टरका सहचालक सुन्दरहरैँचा–६ का २६ वर्षीय अतीत राईको मृत्यु भएको प्रहरीले बताए । ट्याक्टर चालक सुन्दरहरैँचा–६ का ४० वर्षीय प्रेमकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले शनिबार साँझ ७ः३५ बजेतिर पैदलयात्री ग्रामथान–२ का ५२ वर्षीय सुरेशकुमार सरदारलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । मोटरसाइकल चालक ग्रामथान–२ का १८ वर्षीय इशान पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
धनपालथान गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा दुई सातापछि मृत्यु भएको छ । सखरदिनाबाट कर्सियातर्फ जाँदै गरेको को २३ प ८४०६ नम्बरको मोटरसाइकलले गत मंसिर १२ गते साँझ ठक्कर दिँदा पैदलयात्री धनपालथान–३ सोराभागका ५२ वर्षीय शिवचरण माझी घाइते भएका थिए ।
नोबेल शिक्षण अस्पतालमा माझीको आइतबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाए । मोटरसाइकल चालक धनपालथान–४ का ३१ वर्षीय धर्मेन्द्र परियारलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।














