काठमाडौं, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीचको एकता पहल अन्तिम चरणमा पुगेका छन् ।
दुवै दलका शीर्ष नेताहरूबीच पछिल्ला दिनहरूमा लगातार र गम्भीर वार्ता हुँदै आएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सार्वजनिक कार्यक्रममा नै एकताबारे सकारात्मक संकेत दिएका छन् ।
काठमाडौंमा आयोजित जेन्जी फ्रन्टको भेलामा सम्बोधन गर्दै उनले नजिकै खुसीको खबर सुन्न सकिने बताए । थापाले जेन्जी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न बलियो राष्ट्रवादी शक्ति निर्माण अनिवार्य रहेको भन्दै सबै राष्ट्रवादी धारका शक्ति एक ठाउँमा आउनुपर्ने तर्क गरे ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पनि राप्रपा नेपालसँगको एकता अब छिट्टै टुंगिने सम्भावना रहेको बताए । उनका अनुसार अन्य राजावादी तथा राष्ट्रवादी समूहहरूसँग पनि संवाद भइरहेको छ, जसमा केशरबहादुर विष्ट, दुर्गा प्रसाईंसहितका नेताहरूसँग सहकार्यको प्रयास चलिरहेको छ ।
राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि कमल थापा पार्टीबाट अलग भई राप्रपा नेपाल सक्रिय गर्दै आएका थिए । तर हालको राजनीतिक परिवेश तथा राजावादी जनमतको चापपछि दुई पक्षबीच पुनः नजिकता बढेको देखिन्छ । हाल लिङ्देन नेतृत्वको राप्रपाको चुनाव चिह्न ‘गाई’ र थापा पक्षको राप्रपा नेपालको चिह्न ‘तीर’ रहेको छ।
थापा पक्षले राप्रपाको नाम र चिह्न स्वीकार गर्न तयार भएपछि वार्ता अझ सहज भएको बताइएको छ। तर शीर्ष नेतृत्वको टुङ्गो भने अझै बाँकी छ।














