काठमाडौं, १८ मंसिर । शाहब आलमको उत्कृष्ट बलिङ प्रदर्शन (६ विकेटसहित ह्याट्रिक) ले काठमान्डु गोर्खाजलाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गराएको छ।
काठमान्डुले बिहीबार पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो । १६६ रनको लक्ष्य पछ्याएको पोखराले पूर्ण २० ओभर खेले पनि १० विकेट गुमाएर १५२ रन मात्रै बनाउन सक्यो। काठमान्डुका शाहबले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए, जसमा २०औं ओभरका पहिलो तीन बलमा लिएको ह्याट्रिक पनि समावेश थियो ।
पोखराका लागि ऋषि धवनले ५४ रन र धनन्जय लक्षनले ३० रन जोडे तर टोलीलाई जित दिलाउन सकेनन्। लक्षनले बलिङमा पनि राम्रो प्रदर्शन गर्दै ४ ओभरमा १६ रन दिँदै ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेट खोई १६५ रन बनाएको थियो ।
ओपनर बेन चाल्र्सवर्थले ५५ बलमा ६४ रन र भीम शार्कीले १९ बलमा द्रुत ५० सहित ५५ रन बनाए। दुबैबीच भएको ७६ रनको साझेदारीले काठमान्डुको इनिङ्स उकास्यो । ७ खेल सकिँदा काठमान्डुले १० अंकसहित दोस्रो स्थानमा उक्लिँदै शीर्ष दुईमा रहने सम्भावना मजबुत बनाएको छ। पोखरा भने ६ खेलमा चौथो हारसँगै प्लेअफ दौडबाट प्रायः बाहिरिएको छ।














