एजेन्सी, १५ मंसिर । रांचीस्थित जेएससीए अन्तर्राष्ट्रिय रंगशालामा दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय खेलमा भारतीय स्टार ब्याट्सम्यान विराट कोहलीले शानदार प्रदर्शन गरेको छ ।
उनले १२० बलमा १३५ रन जोडे, जसमा सात छक्का र ११ चौका समावेश थियो । एक चौका र एक छक्का प्रहार गर्दै उनले आफ्नो अर्धशतक र त्यसपछि शतक पूरा गरेका थिए ।
यो शतक कोहलीको ५२औँ एकदिवसीय शतक बनेको छ । यससँगै उनी एउटै ढाँचामा सर्वाधिक अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने खेलाडी बने, जसले ५१ टेस्ट शतक बनाएका सचिन तेन्दुलकरलाई उछिनेका छन् ।
शतक पूरा भएपछि मैदान उत्साहमय बनेका बेला एक फ्यान सुरक्षा घेरा तोडेर प्रत्यक्ष खेलमै प्रवेश गरे। कोहलीको नजिक पुगेर फ्यान घुँडा टेक्दै उनका खुट्टा छोने प्रयास गरे । तत्पश्चात् सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणमा लिई मैदान बाहिर लगे ।














