एजेन्सी, १५ मंसिर । भारतको तमिलनाडु राज्यस्थित शिवगंगा जिल्लामा आइतबार दुई सरकारी बस एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ४० जना घाइते भएका छन्, जसमा करिब २० जनाको अवस्था गम्भीर रहेको बताए । प्रत्यक्षदर्शीका अनुसार घुमाउरो सडकमा विपरीत दिशाबाट आउँदै गरेका दुवै बस तीव्र गतिमा थिए र ठोक्किँदा अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।
दुर्घटनापछि धेरै यात्रु बसभित्रै थुनिएका थिए । घटना भएको केही मिनेटमै स्थानीय बासिन्दाले उद्धार कार्य सुरु गरेका थियो । पछि प्रहरी र उद्धारकर्मी आएर घाइतेलाई एम्बुलेन्समार्फत नजिकका अस्पतालहरूमा पु¥याइएको थियो ।
पहिलो चरणमा सात जनाको मृत्यु पुष्टि भएको भए पनि उद्धार सकिँदासम्म मृतकको संख्या बढेर ११ पुगेको अधिकारीहरूले बताए । तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले सामाजिक सञ्जालमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक अनुमानले तीव्र गति र सडकको मोड दुर्घटनाको प्रमुख कारण हुनसक्ने देखाएको छ ।














