जनकपुर, १० मंसिर । मधेश प्रदेश सरकारले खडेरी र डुबानका कारण धानबालीमा ठूलो क्षति व्यहोरेका किसानहरूलाई प्रतिकठ्ठा १५ सय रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
साथै प्रदेशका १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक बेरोजगार युवाहरूलाई मासिक २ हजार रुपैयाँ भत्ता वितरण गर्ने तयारी पनि छ । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सरोज कुमार यादवले कृषि तथा युवा क्षेत्रमा केन्द्रित यी दुई कार्यक्रमले प्रदेशका किसान र बेरोजगार युवालाई तत्कालिक राहत पुग्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री यादवका अनुसार कृषि मन्त्रालयबाट संकलित तथ्यांकका आधारमा धानबाली क्षति भएको क्षेत्रमा राहत वितरण गर्दा करिब ३६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त राहत खडेरी र पछि परेको अविरल वर्षाका कारण डुबानबाट दोहोरो चोट व्यहोरिरहेका किसानका लागि राहतस्वरूप प्रदान गरिँदैछ ।
यस वर्ष मनसुन अवधिमै लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेशका धेरै जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । खडेरी नपस्कँदै असोज महिनाको लगातार वर्षाले अधिकांश जिल्लामा धानबाली डुबानमा परेका थिए ।
यस्तै, बेरोजगार युवाको पहिचान गरी जीवन निर्वाह सहज बनाउन प्रदेश सरकारले बेरोजगार भत्ता कार्यक्रम अघि बढाएको मुख्यमन्त्री यादवले बताए ।
प्रदेशमा स्नातक तह उत्तीर्ण गरे पनि कुनै प्रकारको रोजगारमा नलागेका १ लाख ४८ हजार जति युवा रहेको तथ्यांक रहेको उनले जानकारी दिए ।
यी युवालाई प्रतिमहिना २ हजार रुपैयाँका दरले जीवन निर्वाह भत्ता वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए ।














