एजेन्सीं, १ मंसिर । साउदी अरबमा मक्काबाट मदिना जाँदै गरेको एक बस दुर्घटनामा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ ।
सोमबार हैदराबादका तीर्थयात्रीहरू सवार बस डिजेल ट्याङ्करसँग ठोक्किँदा ठूलो आगलागी भयो । मृतकमध्ये २० जना महिला र ११ जना बालबालिका रहेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बस ट्याङ्करसँग ठोक्किएपछि आगो तीव्र फैलिएको थियो, जसका कारण अधिकांश यात्रुहरू जलेर मृत्यु भएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । सबै मृतक भारतीय भएको पुष्टि भएको छ, र उनीहरू मध्ये धेरै हैदराबादबाट उमरा तीर्थयात्रामा निस्केका थिए ।
दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिक राति करिब १ः३० बजे भएको थियो। त्यो बेला धेरै यात्रुहरू सुतिरहेको कारण आगलागीपछि बसमै थुनिनु परेपछि मानवीय क्षति अझ भयावह बनेको हो ।
तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग नियमित सम्पर्कमा रहँदै उद्धार तथा पहिचान कार्यमा समन्वय गरिरहेको जनाएको छ । मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई दूतावाससँग सहकार्य गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन निर्देश दिएका छन् ।














