काठमाडौं, १४ कात्तिक । जेनजी आन्दोलनपछि राहदानी विभागमा पासपोर्ट बनाउन पुगेका सेवाग्राहीहरू पुनः समस्यामा परेका छन् ।
आन्दोलनका क्रममा विभिन्न १४ जिल्लामा पासपोर्ट प्रणाली ध्वस्त भएपछि हाल विभागले दैनिक पाँच सयदेखि आठ सय मात्र फारम लिन सकिरहेको छ ।
विभागका सूचना अधिकारी केशवराज पन्थीका अनुसार आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण ती जिल्लामा रहेका अधिकांश उपकरण र डेटा नष्ट भएका छन् । “सिस्टम नष्ट भएकाले त्यहाँका पासपोर्ट आवेदनहरू अहिले विभागमा नै प्रशोधन गर्नुपरेको छ, जसले चाप बढाएको हो,” उनले बताए ।
महानिर्देशक तीर्थराज अर्यालले सेवा पुनः सुचारु भए पनि मागअनुसार सेवा दिन कठिनाइ भएको बताए । जिल्लामा बनेका पासपोर्ट र प्रणाली दुवै क्षतिग्रस्त भएकाले केन्द्रमा अत्यधिक चाप परेको उनले जनाए ।
अनलाइन आवेदन र वितरणमा ढिलाइ
हाल अनलाइन आवेदन फारम भर्न नै कठिन भइरहेको सेवाग्राहीहरूको गुनासो छ । अनलाइन प्रणाली साँझ ६ बजे मात्रै खुल्ने भएकाले धेरैले फारम भर्न नसक्ने गरेको बताउँछन् । काभ्रेका सेवाग्राही हरि थापाले भने, “फारम भर्न मात्रै दुई दिन लाग्यो, पासपोर्ट हातमा पाउँदा भाग्यमानी महसुस भयो ।”
विदेशस्थित दूतावासमा पनि असर
प्राविधिक कारणले विदेशस्थित नेपाली दूतावासहरूमा पनि पासपोर्ट वितरण प्रभावित भएको छ।
मलेसियास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ, “राहदानी छपाइमा ढिलाइ भएकाले १९ भदौपछिका आवेदनका पासपोर्ट दूतावासमा आइपुगेका छैनन्।”
विभागका सूचना अधिकारी पन्थीले पनि प्रिन्टमा ढिलाइ भएकै कारण विदेशस्थित दूतावासहरूमा पासपोर्ट पठाउन समस्या भइरहेको पुष्टि गरे।
बिचौलियाको सक्रियता, दुई जना पक्राउ
सेवा सुस्त भएपछि राहदानी विभाग परिसरमा बिचौलियाहरू पुनः सक्रिय भएका छन्। अनलाइन आवेदन भर्दिदिने र पासपोर्ट छिटो बनाइदिने बहानामा सेवाग्राहीबाट रकम असुल्ने कार्य भइरहेको छ।
यसै क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विभागले भ्रष्टाचार र ठगीका गतिविधिप्रति “शून्य सहनशीलता नीति” अवलम्बन गरिएको बताउँदै सेवाग्राहीहरूलाई यस्ता व्यक्तिबाट सावधान रहन आग्रह गरेको छ।
जिल्ला कार्यालयहरूमा पासपोर्ट नपुग्दा सेवा रोकियो
काभ्रेलगायतका जिल्ला प्रशासन कार्यालयहरूले १९ भदौपछिका आवेदनका राहदानी हालसम्म प्राप्त नभएको जनाएका छन्।
काभ्रे प्रशासन कार्यालयले सूचना जारी गर्दै भनिएको छ, “१९ भदौसम्मका राहदानी प्राप्त भइसकेका छन्, त्यसपछिका आवेदनका राहदानी विभागबाट अहिलेसम्म प्राप्त भएका छैनन्।”
संक्षेपमा
१४ जिल्लामा पासपोर्ट प्रणाली जेनजी आन्दोलनपछि ध्वस्त
विभागमा दैनिक ५ सय–८ सय मात्र फारम खुल्ने
अनलाइन आवेदन र वितरणमा ढिलाइ
बिचौलिया सक्रिय, दुई जना पक्राउ
विदेश र जिल्लास्थित दूतावासहरूमा पासपोर्ट पठाउन ढिलाइ














