काठमाडौं, ९ कात्तिक । प्रतिनिधिसभा निर्वाचन २१ फागुन गर्ने तयारीमा जुटेको निर्वाचन आयोगले करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।
आयोगका अनुसार बजेटको अन्तिम रुपरेखा अझै तय हुन बाँकी छ, तर तयारी तीव्र गतिमा अघि बढाइरहेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
सामग्री खरिद र तयारी
आयोगले चुनावका लागि आवश्यक सामग्रीहरूको सूची तयार पार्दैछ। मतपेटिका, मतपत्र, सुरक्षा उपकरणदेखि सञ्चार सामग्रीसम्मका सामान खरिदको प्रक्रिया छठ पर्व सकिएलगत्तै सुरु गर्ने योजना आयोगले बनाएको छ । यसअघि रहेका केही सामग्री पुनःप्रयोग गरेर खर्च घटाउने प्रयास पनि आयोगको तयारीमा समावेश छ । आयोगले अर्थ मन्त्रालयसँग छलफल गर्दै प्राथमिकता अनुसार बजेट टुंग्याउने प्रक्रिया अघि बढाइरहेको छ।
हिमाली क्षेत्रमा हेलिकप्टर सेवा तयारी
चुनाव सामग्री ढुवानी र कर्मचारी आवतजावतका लागि हिमाली क्षेत्रका जिल्लामा विशेष व्यवस्था मिलाइने भएको छ। कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट सामग्री ढुवानी तथा कर्मचारी पठाउने योजना आयोगले बनाएको हो।
आयोग स्रोतका अनुसार, आकस्मिक परिस्थितिको सामना गर्न छुट्टै “आपतकालीन व्यवस्थापन कोष” राख्ने तयारी भइरहेको छ। यसले दुरदराजका मतदान केन्द्रहरूमा सामग्री ढुवानी सहज बनाउने अपेक्षा गरिएको छ।
एक हजार मतदाता बराबर एक मतदान केन्द्र
आयोगले यसपटक पनि एक हजार मतदाता बराबर एक मतदान केन्द्रको मानक कायम गर्ने भएको छ। यसरी देशभर हजारौं मतदान केन्द्रहरू स्थापना गर्नुपर्ने भएकाले मानवसंसाधनमा सबैभन्दा बढी खर्च हुने आयोगको अनुमान छ।
प्रत्येक मतदान केन्द्रमा कम्तीमा १४ जना कर्मचारी खटाइने र मतगणनाका लागि छुट्टै टोली परिचालन गरिने तयारी छ। यसरी हेर्दा निर्वाचन सञ्चालन, सुरक्षा व्यवस्था र यातायातका लागि सबैभन्दा ठूलो बजेट विनियोजन गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगले अन्तिम बजेट प्रस्ताव मस्यौदा तयार पारेर छिट्टै अर्थ मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ। मन्त्रालयको स्वीकृतिपछि मात्र कुल खर्चको आधिकारिक आकडा सार्वजनिक गरिनेछ।














