काठमाडौं, ७ असोज । बीपी राजमार्गको सिन्धुली खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गोलन्जोर गाउँपालिका–७ तल्लो बराहमा इम्बोस्ड नम्बर प्लेट एएए २०७० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा धनुषाधाम नगरपालिका–९ का ३९ वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पु¥याइएको थियो। उपचारका क्रममा आज बिहान करिब साढे ६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार काठमाडौंतर्फ जाँदै गरेको उक्त मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा होइदेन करिब १५ फिट तल भिरमा खसेका थिए। इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले उनलाई उद्धार गरी अस्पताल पठाएको थियो ।














