काठमाडौं, ५ कात्तिक । दशैं–तिहारको अवसरमा अमेरिका बाट घर फर्किएका छोराबुहारीमाथि आफ्नै बाबुले खुकुरी प्रहार गरेको छ ।
घटना बुधबार बिहान काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५, थलीस्थित भीमबारी टोलमा भएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा आफ्ना छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका हुन् ।
घटनामा ३२ वर्षीय छोरा रुविस उप्रेती र उनकी पत्नी मनिता भण्डारी घाइते भएका छन् । रुविसको बायाँ हातका चार वटा औंला काटिएको र दाहिने खुट्टाको घुँडामा चोट लागेको बताएको छ ।
मनिताको दायाँ हातको कुममा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार, विष्णु उप्रेतीलाई घटनापछि तत्काल नियन्त्रणमा लिइएको छ र उनी हाल गोकर्ण प्रभागअन्तर्गत प्रहरी वृत्त बौद्धको हिरासतमा छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














