काठमाडौं, ५ असोज । नेदरल्यान्डको द हेगमा शनिबार आप्रवासन र शरणार्थी नीतिविरुद्ध हिंसात्मक प्रदर्शन भएको छ ।
हजारौँ प्रदर्शनकारी सडकमा उत्रिँदा स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको हो ।
स्थानीय प्रशासनका अनुसार प्रदर्शनका क्रममा ३० जना पक्राउ परेका छन् र दुई जना प्रहरी घाइते भएका छन् । प्रहरीले अझै केही व्यक्तिहरूलाई पक्राउ गर्न सकिने चेतावनी दिएको छ ।
डच झण्डा र दक्षिणपन्थी समूहका झण्डा बोकेका प्रदर्शनकारीहरूले ढुङ्गा र बोतल प्रहार गर्दै प्रहरीसँग झडप गरेका थिए । उनीहरूले एक प्रहरी गाडीमा आगजनी गरेका र राजमार्ग केही समयका लागि अवरुद्ध गरेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, प्रदर्शनकारीहरूले सेन्टर–लेफ्ट डट पार्टीको मुख्यालयमा तोडफोड गर्दै धेरै झ्याल फुटाएका थिए । पार्टीका नेता रोब जेतेनले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै भनेका छन्, “गुण्डागर्दी अस्वीकार्य छ । राजनीतिक दलहरूलाई डराउन सकिन्छ भन्ने सोच गलत हो । हामी चरमपन्थी हुलदंगालाई हाम्रो देश कब्जा गर्न कहिल्यै दिने छैनौं ।”
नेदरल्यान्डमा अक्टोबर २९ मा आमनिर्वाचन हुँदैछ, र यसैको मुखमा आप्रवासन मुद्दामा चर्को असन्तुष्टि सार्वजनिक रूपमा देखिएको हो । यस वर्ष मात्रै करिब ४४ हजार ५५ शरणार्थी र उनका परिवार नेदरल्यान्ड आएका छन् । सन् २०२४ मा आएका शरणार्थीमध्ये ४४ प्रतिशत सिरियाबाट र बाँकी इराक, टर्की, इरिट्रिया र यमनबाट आएका हुन् ।














