काठमाडौं, २ जेठ । कपिलवस्तुमा कारको ठक्करले दुई महिलाको मृत्यु भएका छन् ।
कारको ठक्करबाट गम्भीर घाइते भएको बुद्धभूमि नगरपालिका–१ बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको मृत्यु भएको प्रहरीले बताएको छ ।
अर्घाखाँचीबाट बुटवलका पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडक मा आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले शुक्रबार बिहान पौने ६ बजे ठक्कर भएको थियो ।
कारको ठक्करबाट घाइते उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जनाएको छ ।
कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।